Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अन्ततः नेपाल पक्षकै जीत, ओली जेठ २ मा फर्किन सहमत

    अन्ततः नेपाल पक्षकै जीत, ओली जेठ २ मा फर्किन सहमत

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल पक्षसँगको सहमतिमा पुनः प्रधानमन्त्री बन्न सफल भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् संसदिय दलका नेता केपी शर्मा ओली अन्ततः जेठ २, २०७५ कै अवस्थामा फर्कन तयार भएका छन् ।

    ओलीसँग लगभग छुट्टिने पक्कापक्की गरेका वरिष्ठ नेता माधव नेपाल पक्षले अन्ततः अध्यक्ष ओलीलाई पार्टीलाई जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) को अवस्थामा फर्काउन तयार गराएको हो ।



    आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको स्रोतको दावी छ ।



    यद्यपी जेठ २ मै फर्कने सहमति भएपनि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरुको जिम्मेवारी लगायतका विषयमा भने कुनै निर्णय हुन नसकेपछि त्यसको गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको पनि बताइएको छ ।

    एमाले नेता भीम रावललका अनुसार ओली र नेपाल नै बसेर बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने सहमति भएको छ ।

    नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ ।

    तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओलीले त्यसलाई भत्काउन चाहेका छैनन् ।

    ओलीले वैशाख १० गते माओवादीबाट आएका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गराएका थिए । अब नेपाल समूहको शर्त मान्नलाई अध्यक्ष ओलीले ५ पुसयता बनेका सबै कमिटी विघटन गर्नुपर्ने हुन्छ ।

    माधव नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनाएका छन् । सहमति जुट्दा यो कमिटी पनि खारेज गर्नुपर्ने हुन्छ ।

    नेताहरूका अनुसार यसमा कार्यदलले गृहकार्य गर्नेछ । यदि तलका कमिटीहरू ब्युँताउन ओली तयार भए माथिल्ला कमिटीमा माओवादीबाट कमिटीहरूमा आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपाल समूहका नेताहरुले बताएका छन् । त्यसैले पनि अब सहमति हुने पक्कापक्की जस्तै भएको छ ।

    वार्तामा प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, विष्णु रिमाल तथा नेपाल पक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त संलग्न थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार