कास्की। पोखरा महानगरपालिका-८ न्युरोडबाट करिब २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ जलजला गाउँपालिका-६ बस्ने २० वर्षीय प्रिन्स मगर र भारत मोतिहारी घर भएको २० वर्षीय रन्जन चौधरी रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, नवलपरासी(पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकबाट नियन्त्रित लागूऔषध ६५ एम्पुल नुर्फिन, ६५ एम्पुल फेनारगन, ६५ एम्पुल डाइजेपाम र ३ सय ट्याब्लेट नाइट्राभेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा देवचुली नगरपालिका-३ बस्ने २५ वर्षीय सुदिप पौडेल र सोही नगरपालिका-५ बस्ने २५ वर्षीय आकाश थापा रहेका छन् । ना.५२ प ९४५८ नम्बरको मोटरसाइकललाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।