Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाल पक्षको स्थायी कमिटी बैठक जारी, रिटबाट हस्ताक्षर फिर्ता लिने सर्त नमान्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति गरेको पार्टी एकताको प्रस्तावका बारेमा छलफल गर्न माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक बसिरहेको छ ।

नेपाल पक्षको स्थायी समितिका सदस्यहरुको जुम मिटिङमा ओलीले गरेको पार्टी एकताको प्रस्तावका बारेमा छलफल भइरहेको छ । अध्यक्ष ओलीले राखेको प्रस्तावका बारेमा बैठकले साझा धारणा सार्वजनिक गर्ने स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छन् ।

अध्यक्ष ओलीको प्रस्तावको बुँदा नम्बर ४ मा सर्वोच्च अदालतमा दर्ता गरेको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त मान्य नहुने नेपाल पक्षका नेताहरुको भनाइ छ । ओलीले राखेको प्रस्तावको ४ नम्बर बुँदामा उल्लेख छ– ‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।’

ओलीले राखेको यो सर्त मान्न नेपाल पक्ष तयार नहुने भएको छ । ओलीले पार्टीलाई जेठ ३, २०७५ कै अवस्थामा फर्काउनेलगायतका कुराहरु मानेर जान सकिने भए पनि उक्त सर्त मान्न नेपाल पक्ष तयार नहुने भएको छ ।

नेतृ शाक्यले त एकता प्रस्तावलाई ओलीको नयाँ चालबाजीको संज्ञा दिएकी छन् । उनले भनिन्– ‘प्रधानमन्त्री ओलीले आफ्नो कदम गल्ती थियो भनेर भनेका छैनन्, आफ्ना गल्ती नदेख्ने, अरू मात्रै सच्चिनु पर्छ भनेर कहाँ सहमतिको वातावरण बन्छ ।’

अध्यक्ष ओलीको एकता प्रस्तावलाई अर्का स्थायी समिति सदस्य योगेश भट्टराईले भने सकारात्मक भनेका छन् । अर्का नेता अरुण नेपालले पनि एकता प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077