Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोना खोप नपाएको झोकमा पेट्रोलियम पदार्थको ढुवानी बन्द, ट्याङ्कर चालक आन्दोलनमा

काठमाडौं । कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन्। सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने गरी कानून लागु गरेपनि उनीहरुले खोप नपाएको झोकमा ढुवानी बन्द गर्ने घोषणा गरेका हुन ।

चालक संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको जानकारी दिएका छन् । ढुवानीकर्ताको अवरोधका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमले जनाएको छ ।

मंगलबारदेखि निषेधाज्ञामा केही खुकुलो भएसगैँ पेट्रोलियम पदार्थको अभाव हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको भनाइ छ । आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिदा मङ्गलबारदेखि अभाव हुनसक्ने अवस्था देखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै उद्योग मन्त्रालयले पेट्रोल तथा ग्यास व्यवसायीलाई लगाउन १ लाख ५७ हजार ५ सय ९६ डोज खोप उपलब्ध गराउन माग गरेको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय महासंघलाई १० हजार ३ सय ४६ डोज, नेपाल ट्रक यातायात व्यवसायी महासंघलाई १ लाख ४० हजार डोज र ग्यास बिक्रेता महासंघलाई ४ हजार ६ सय डोज खोप उपलब्ध गराउन मन्त्रालयले माग गरेको छ ।

उद्योग मन्त्रालयले नेपाल पेट्रोलियम ट्यांकर चालक संघ थानकोटलाई १५ हजार, नेपाल आयल निगमलाई १ हजार डोज र साल्ट ट्रेडिङ कर्पोरेशनलाई १५० डोज खोप उपलबध गराउन  सोमबार कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077