Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले कार्यदलको बैठक आज पनि, विवाद निष्कर्षमा पुर्‍याउने तयारी

    एमाले कार्यदलको बैठक आज पनि, विवाद निष्कर्षमा पुर्‍याउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बेलुका पुन: बस्ने भएको छ ।

    यसअघि आज दिँउसो साढे १२ बजे अर्थ मन्त्रालयमा बोलाइएको बैठक स्थगित गरेर साँझ ७ बजे बस्ने भएको अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले अनलाइन नेपाललाई जानकारी दिए ।



    संयोजक नेम्वाङका अनुसार बिहीबार दिउँसो तय भएको बैठक विवाद निष्कर्षमा पुर्‍याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित गरिएको हो । ‘कार्यदलको अहिलेको बैठक सात बजेसम्म स्थगित गरिएको छ,’ नेम्वाङले भने, ‘सकभर आज निष्कर्षमा पुर्‍याउने तयारी छ ।’



    पछिल्लो समय एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । भेटका क्रममा दुवैले आ-आफ्नो अडान राखेका थिए । यसबीच एमालेको विवाद समाधान कार्यदल क्रियाशील रहेको थियो । यो कार्यदल विवाद समाधाननजिक पुगेको दाबी गरिएको छ।

    यसअघि हिजो कार्यदलको सिंहदरबारमा बसेको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको बताइएको छ ।

    एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न हिजो साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको थियो ।

    नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

    कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार