Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डुंगा दुर्घटना प्रकरण : अमेरिका पठाउने एजेन्टको खोजी तीव्र, एक जना पक्राउ

काठमाडौँ । प्रहरीले गैरकानुनी रूपमा अमेरिका पठाउने एजेन्टको खोजी अभियान तीव्र पारेको जनाएको छ ।

बिनाभिसा अर्थात् गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात जना नेपाली डुंगा दुर्घटनामा परेर बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी अभियान तीव्र पारेको हो।

खोजी अभियान अन्तर्गत प्रहरीका अनुसार बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको छ। यसअघि गोमाका श्रीमान् टोपबहादुर जिसी पनि  संगठित मानव तस्कर गरेको अभियोगमा अदालतमा मुद्दा परेपछि १५ लाख धरौटीमा छुटेका थिए ।

गत असार ७ गते बिहान नेपालका ८ जना र १० बंगलादेशी नागरिक सवार डुँगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो। त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए । पौडी खेलिरहेका उनीहरूको सशुकल उद्धार भएको थियो।

डुंगा दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका-१२ का २८ वर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका-५ का २७ वर्षीय रेशम बैंगा मगर र घोराही उपमहानगरपालिका-१२ का २१ वर्षीय एन्जल बुढा मगर बेपत्ता रहेको भनेर आफन्तले प्रहरीमा जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन्। दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउन खोज्दा डुंगा दुर्घटनामा परेको थियो।

मानव तस्करीको यो घटनामा गोमाको संलग्नता के थियो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले काठमाडौं ल्याएर उनीमाथि थप अनुसन्धान गरिने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077