Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तुलसीको बिरुवा रोप्दै हरिशयनी एकादशी मनाइँदै

    तुलसीको बिरुवा रोप्दै हरिशयनी एकादशी मनाइँदै

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2K
    SHARES

    काठमाडौँ । तुलसीको बिरुवा रोप्दै आज हरिशयनी एकादशी मनाइँदै छ । घर घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ ।



    आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौतम बताउँछन् ।



    भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।

    कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा काठमाण्डौको बूढानीलकण्ठ, काठमाण्डौ उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको थियो ।

    कोरोनाका कारण अहिले मन्दिर बन्द गरिएको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

    तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ ।

    तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका ठाउँमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार