Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगमा जसपा

    रेशम चौधरीको सनाखत जेलबाटै

    रेशम चौधरीको सनाखत जेलबाटै

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ ।

    आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको बेला चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न लागिएको आयोगले जनाएको छ ।



    डिल्लीबजार कारागारका जेलर बसन्त पुरीले निर्वाचन आयोगबाट जेलमा सनाखत गराउने विषयमा पत्र आएको जानकारी दिए । आयोगले आफ्नो कर्मचारीलाई जेलमा पठाएर चौधरी कतापट्टी रहेका छन् भनेर उनको हस्ताक्षर लिनेछन् ।



    आयोगले जसपाको आधिकारिकता विवाद समाधान गर्न  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

    यता, आइतबार सर्वोच्च अदालतले जसपाका अर्का अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको देखिन्छ । जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिकै विवाद निरूपण नगरी आयोगले बहुमत र अल्पमत परीक्षणमा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए । तर, न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन आगामी साउन १५ गते बोलाएको छ।

    फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्ष बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर पक्ष अहिले आएर कमजोर भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष  आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । जसपाको सत्तारोहणले प्रधानमन्त्री देउवालाई सरकार सञ्चालनमा राहत हुनेछ । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । त्यसैले जसपाको आधिकारिकतासम्बन्धी विवादलाई सत्ता गठबन्धनका दलहरूले समेत चासोका साथ हेरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार