Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बाग्लुङमा कोरोनाको सङ्क्रमण बढ्यो, निषेधाज्ञामा पुनः कडाइ

बाग्लुङ। खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द गरिएको छ ।

कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगरप्रमुख एवं प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकाले दिने अति जरुरी बाहेकका सेवा पनि आउँदो १८ गते सम्मलाई बन्द गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । नगरपालिकाको केन्द्रमा रहेका बैंक तथा वित्तीय संस्था, पसल, होटल, रेष्टुरा, विद्यालय, यातायातलगायत सेवा पनि बन्द रहनेछन् । नगरपालिकाले काम नपरी घर बाहिर ननिस्कन र जानै परे मास्क अनिवार्य लगाउन सर्वसाधारणमा सूचित गरेको छ ।

कोरोना सङ्क्रमणका कारण जैमिनीका ५१ वर्षीय पुरुषको सोमबार नै धवलागिरि अस्पतालमा ज्यान गएको थियो । त्यसअघि गत शनिबार जैमिनी–१० का ५२ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । सङ्क्रमित बढेसँगै लगातारजसो मृत्युका घटना हुन थालेपछि महामारी रोकथाम र नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ–१० मा पनि टोलटोलमा सङ्क्रमण फैलिएका कारण बन्द गर्नुपरेको वडा कार्यालयले जनाएको छ । विद्यालय, सङ्घ संस्था, कार्यालय, होटल, रेष्टुराँसहित अत्यावश्यक बाहेकका सबै सेवा आउँदो १८ गतेसम्मलाई बन्द हुने वडाध्यक्ष प्रेमबहादुर थापाले बताए ।

खुकुला प्रावधानसहित जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि महामारी थामिएको छैन । बजार, सार्वजनिक सेवा र यातायात खुला छ । मानिसको आउजाउ बढेसँगै कोरोनाको जोखिम पनि बढ्दो छ । बीचमा सङ्क्रमण घटेजस्तो देखिए पनि पुनः बढेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३२० छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा १७४ र जैमिनीमा ३३ जना सक्रिय सङ्क्रमित छन् । तमानखोला गाउँपालिकामा भने अहिले सङ्क्रमित छैनन् । पहिलो र दोस्रो लहरमा गरी हालसम्म जिल्लामा पाँच हजार ८१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा हालसम्म ६१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077