Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सई थापासहित ३ जना बर्खास्त, एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको शान्ति मिसन प्रश्नपत्र प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ।

बर्खास्त हुनेमा प्रहरी नायब निरीक्षक (सई) जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम रहेका छन्।

पक्राउ परेका सई थापा परीक्षा शाखामा कार्यरत् थिए । शाह केही महिनाअघि मात्रै युएन शाखाबाट साइबर ब्युरो सरूवा भएका थिए भने बम युएन शाखामा कार्यरत् थिए।

यस्तै, उक्त प्रकरणमा समितिले युएन शान्ति मिसन शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणा, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपेश खड्कासहित ११ जनालाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ।

कारबाहीको सिफारिस गरिएकाहरूमा प्रहरी इन्स्पेक्टर, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, हवल्दार, जवानसमेत छन्।

गत साउन १४ गते प्रहरी प्रधान कार्यालयमा लिइएको युएन परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएको थियो। सो प्रकरणमा प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (एआईजी० वसन्त लामाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा तीन जना प्रहरीलाई बर्खास्तसहित ११ जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

यस्तै, छानबिन प्रतिवेदन अनुसार साउन १२ गते राति कार्यालय सहयोगी बमले प्रहरी उपरीक्षक राणाको टेबुलबाट प्रश्नपत्र निकालेका थिए। जुन कुरा परीक्षा शाखाका सई थापा र डीएसपी खड्कालाई थाहा थियो।

डिएसपी खड्का परीक्षार्थी थिए । परीक्षा हुनुअगावै प्रश्नपत्र उनको हातमा पुगेको थियो।

एसएसपी कुँवरले परीक्षार्थी भएकालाई युएन शाखामा काम गर्न रोक लगाउने, दुई वर्षभन्दा बढी समयसम्म युएन शाखामा कुनै पनि कर्मचारीलाई नराख्ने लगायत सिफारिस भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077