Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मेसी, नेयमार, एमबाप्पे र रामोस : पिएसजीमा कसले हान्ला पेनाल्टी ? हालसम्म को बढी सफल ? (तथ्याङ्क)

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अहिले स्टार खेलाडीहरुले भरिएको छ। तीमध्ये पनि केही खेलाडीहरु विश्व फुटबलका लागि सुपरस्टार जस्तै नै छन्।

हालै मात्र पनि विश्व फुटबलका महान् हस्तीमध्ये एक लियोनल मेसी पनि पिएसजीमा आबद्ध भएका छन्। उनको आगमनले क्लब थप बलियो बनेको छ भने च्यािम्पयन्स लिग जित्ने आशामा रहेको छ।

पिएसजीमा मेसीबाहेक, आक्रामक युवा फरवार्ड नेयमार जुनियर, तुफानी फरवार्ड किलियन एमबाप्पे र विश्व उत्कृष्ट डिफेण्डर सर्जियो रामोसजस्ता खेलाडी पनि छन्। उत्कृष्ट खेलाडी एकै क्लबमा भएपछि मैदानमा पिएसजीले पेनाल्ठी पाउँदा कसले प्रहार गर्ला ? यो चासोको विषय बन्न सक्छ।

मेसीलाई अनुभवी खेलाडीका रुपमा पेनाल्टी हान्न दिने सम्भावना प्रबल छ। तर, उनको पेनाल्टी तथ्याङ्क सर्वोत्कृष्ट भने छैन। नेयमार मेसी जानुअघि पेनाल्टीका लागि पहिलो रोजाइमा छन्। नेयमारको अनुपस्थितिमा यो जिम्मेवारी एमबाप्प्ेले सम्हाल्दै आएका छन्। अनि रामोस् पनि राम्रो पेनाल्टी प्रहार गर्ने खेलाडीमा गनिन्छन्। यस विषयमा प्रशक्षिक माउरिसियो पोचेटिनोको निर्देशन नै अन्तिम होला सायद। अथवा खेलाडीहरुबीच नै समझदारी पनि हुन सक्ने सम्भावना छ।

यस्तो छ मेसी, नेयमार, एमबाप्पे र रामोसको पेनाल्टी तथ्याङ्क

मेसीले अहिलेसम्म आफ्नो करियरमा १३० पेनाल्टी प्रहार गरेका छन्। त्यसमध्ये उनले १०१ लाई गोलमा परिणत गरेका छन्। बाँकी २९ पेनाल्टि उनले मिस गरेका छन्। यो तथ्याङकलाई आधार मान्दा मेसी पेनाल्टी प्रहारमा करिब ७७ प्रतिशत सफल छन्।

त्यस्तै, नेयमारले हालसम्म ७६ पेनाल्टी प्रहार गरेका छन्। जसमध्ये ६२ पेनाल्टीमा गोल गरेका छन् भने बाँकी १४ पेनाल्टी मिस गरेका छन्। तथ्याङ्कलाई हेर्दा नेयमार पेनाल्टी प्रहारमा करिब ८१ प्रतिशत सफल छन्।
रामोसले हालसम्म ३५ पेनाल्टी प्रहार गरेका छन्। जसमध्ये ३० गोल भएको छ भने ५ पेनाल्टीमा उनी चुकेका छन्। यस हिसाबमा उनी पेनाल्टी प्रहारमा करिब ८५ प्रतिशत सफल छन्।

अर्का खेलाडी एमबाप्पेले हालसम्म १६ पेनाल्टी प्रहार गरेका छन्। जसमध्ये १३ गोल भएको छ भने ३ पेनाल्टी मिस भएको छ। उनी पेनाल्टी प्रहारमा करिब ८१ प्रतिशत सफल छन्।

पेनाल्टी प्रहारमा रामोसको रेकर्ड उत्कृष्ट छ। उनले पछिल्ला १० पेनाल्टीलाई गोलमा परिणत गरेका छन्। नेयमार र एमबाप्पे दुबैले पछिल्ला १० मध्ये नौ पेनाल्टीमा गोल गरेका छन् भने मेसीले १० मध्ये ८ लाई गोलमा परिणत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077