Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौँ महानगरको कर उठाउने अचम्मको नीति : लोकदोहोरी गीतसहित पञ्चेबाजा झ्याँई झ्याँई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको अभ्यास थालेको हो ।

आजदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुगेको छ । यसअघि कामपाले गत असार १६ गते र साउनको अन्तिमसाता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गरी विवरण पेश गर्न आग्रह गरेको थियो ।

कामपाले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए।

करदातालाई कर बुझाउन रचनात्मक दबाब दिँदै विभागले आज दरबारमार्ग, न्यूरोड र नयाँ बजारका करदाताको घर–आँगनमा पञ्चेबाजासहित नाचगान गरेका छन् । 'अटेर गर्नेलाई कानूनी कारवाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको यही भदौ २४ देखि सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरी महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो', उनले भने ।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमानुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घ संस्थालाई अनुरोध गरिएको छ ।

मुख्यगरी कर नतिर्नेमा नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालिलगायत रहेका छन् । लामो समयसम्म कर नतिरेका करदाताबाट सार्वजनिक सूचना जारी गरेपछि कामपाले रु तीन करोड बक्यौता असुल गरेको पनि विभागले जानकारी गराएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077