Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

२० जनाको समूहमा आएका डाँकाहरूले बैंक लुटे, मानिसहरुलाई समेत गाडीमाथि बाँधेर लगे

एजेन्सी । ब्रजिलको एउटा सहरमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरूले केही मानिसलाई आफ्नै गाडीमाथि बाँधेर लिएर भागेका छन्।

देशको दक्षिणी भेगमा अवस्थित आराशाटुवामा भएको डकैतीका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। तीमध्ये एक जना सन्दिग्ध डाँका पनि छन्।

बीबीसीका अनुसार उक्त डकैतीमा २० जनाभन्दा बढी मानिसहरू सहभागी थिए । डाँकाहरूले गाडीमा आगो लगाएर बाटो अवरुद्ध पारेका थिए तथा सहरका ठाउँठाउँमा विस्फोटक पदार्थ राखिदिएका थिए।

केही वर्षयता मानिसलाई बन्धक बनाएर मानवढालका रूपमा प्रयोग गरी ब्याङ्कमा गरिने डकैतीका ठूला घटनाहरूको सङ्ख्या बढ्न थालेको छ।

प्रारम्भिक विवरणहरूमा डाँकाहरूको समूहमा ५० जनाभन्दा बढी मानिस भएको बताइएको थियो। तर पछि उक्त सङ्ख्या २० को सेरोफेरोमा भएको विवरण आएको थियो।

एक सुरक्षा अधिकारीले बताएअनुसार भिडिओ खिच्दै गरेको थाहा पाएपछि डाँकाहरूले एक व्यक्तिलाई मारिदिएका थिए।

डाँकाहरू भागिरहेको बेला प्रहरीले गरेको कारबाहीमा सहरबाहिर एक महिला र डाँकाहरूको समूहको भन्ठानिएका एक जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

डाँकाहरूले बाटोमा बिछ्याएको बम विस्फोट हुँदा साइकल चलाइरहेका एक २५ वर्षे व्यक्ति गम्भीर घाइते भएका छन्। उनलाई अस्पताल लगिएको र उनका दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। गोली लागेका अरू तीन जना पनि अस्पतालमा छन्।

स्थानीय सुरक्षा अधिकारीका अनुसार सहरका विभिन्न स्थानमा १४ वटा बम अझै बाँकी छन्। तिनमा ताप वा गतिले उत्तेजित भएर विस्फोट गराउने सेन्सर जडान भएको हुनसक्ने सङ्केत पाइएको उनले बताए।

सोमवार स्थानीय विद्यालयहरू बन्द रहे भने नगरवासीहरूलाई विस्फोटक पदार्थ र बम निष्क्रिय नपारिएसम्म घरभित्रै बस्न भनिएको छ। प्रहरीका अनुसार तीनजना सन्दिग्ध डाँकालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077