Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाललाई मिल्यो ठूलो सफलता, ३५ जना सांसदहरुले छाडे केपी ओलीको साथ

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेता माधवकुमार नेपाललाई ठूलो सफलता मिलेको छ।

मंगलबार नेकपा एमालेका ३५ जना सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टी परित्याग गरेर अध्यक्ष माधव नेपालको एकीकृत समाजवादी रोजेपछि उनलाई सफलता मिलेको हो।

३५ सांसदहरुमध्ये, प्रदेश १बाट १० जना, बागमतीबाट १२ जना र सुदूरपश्चिम प्रदेशसभाबाट १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् । जसमध्ये बागमतीका सांसदहरुले केही बेर अघि प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर नेपाल नेतृत्वको नेकपा (एस) रोजेको बताइएको छ।

यस्तै, प्रदेश १ का १० जना सांसदहरु भोलि बुधबार आयोगको कार्यालयमा पुगेर नेकपा एस नै रोज्ने तयारीमा रहेको बताएका छन्। उनीहरु आजै जाने कार्यक्रम रहेपनि आज उक्त प्रदेशमा सार्वजनिक बिदा परेकाले भोलिलाई सारिएको बताएका छन्।

यता, सुदुरपश्चिममा भने भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) मा लागेको खबर प्राप्त भएको छ। यसअघि आयोगले आगामी २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय दिएको थियो ।

स्रोतका अनुसार सुदूरपश्चिममा मंगलबारै १३ जना सांसदले माधव नेपालको नेकपा (एस) मा सनाखत गर्न लागेका हुन् । सनाखत गर्नेमा सोडारीसहित, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

अहिले नेकपा एसमा जान चाहने प्रदेशसभा सदस्यको हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । हस्ताक्षर सकिएलगत्तै प्रदेश निर्वाचन आयोगमा सनाखत गराइने नेकपा एसकी एक केन्द्रीय सदस्यले बताए । ‘आज नभए भोलिसम्म निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँछौं,’ ती सदस्यले भने।

सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077