Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अनलाइन गेममाथि चीनको अङ्कुश : बालबालिकाले तोकिएको दिन एक घण्टा मात्र खेल्न पाउने

एजेन्सी । चीनमा सरकारले बालबालिकाको अनलाइन गेम खेल्ने समयावधि घटाइदिँदै निश्चित समय तोकिदिएको छ। अनलाइन गेमिङका कारण १८ वर्षभन्दा मुनिका समूहलाई नकारात्मक प्रभाव परेको भन्दै त्यस्तो निर्णय गरिएको हो।

चीनको भिडिओ गेम नियामक निकायका अनुसार अब बालबालिकाले शुक्रवार, सप्ताहान्त र बिदाको दिनमा एक-‍एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउनेछन्।

त्यहाँको राष्ट्रिय प्रेस र प्रकाशन प्रशासनले सरकारी समाचार एजेन्सी सिन्ह्वालाई दिएको जानकारीअनुसार साँझ ८ देखि ९ बजेसम्म मात्र खेल खेल्न अनुमति दिइनेछ। प्रशासनले गेमिङ कम्पनीहरूलाई बालबालिकालाई उक्त समयमा घरबाहिर खेल्नबाट रोक्न निर्देशन समेत दिएको छ।

नियामक निकायका अनुसार तोकिएबमोजिम समयावधि लागु भए वा नभएको विषयमा अनलाइन गेमिङ कम्पनीहरूको निरीक्षण पनि गरिनेछ।

यसअघिको नियमानुसार बालबालिकाले दैनिक ९० मिनेटसम्म अनलाइन खेल खेल्न पाउँथे भने बिदाको दिन उनीहरूलाई तीन घण्टासम्म खेल्ने अनुमति थियो।

चीनको यो कदमबाट अत्यधिक अनलाइन गेमिङले किशोरकिशोरी तथा बालबालिकामा पारिरहेको प्रभाव चिन्ताको विषय हो भन्ने देखिन्छ।

अगस्टको आरम्भतिर एउटा सरकारी सञ्चारमाध्यमले अनलाइन खेललाई "आध्यामिक अफिम" घोषणा गरेको थियो।

अहिले प्रतिबन्ध लागु हुनुभन्दा एक महिनाअघि पनि सरकारी पत्रिका 'इकोनोमिक इन्फर्मेशन डेली'ले किशोरकिशोरीहरूलाई अनलाइन गेमिङको लत लागेको र त्यसले नकारात्मक प्रभाव पारेको जनाएको थियो।

उक्त लेखका कारण चीनको सर्वाधिक ठूलो अनलाइन गेमिङ कम्पनीको शेयर मूल्य घटेको दाबी गरिएको छ।

चीनमा बालबालिका, किशोरकिशोरी र युवायुवतीमा भिडिओ गेम र अनलाइन गेमहरू लोकप्रिय छन्। खेलमा प्रतिबन्धबारे अधिकांश अभिभावक सकारात्मक छन्। तर चीनका सामाजिक सञ्जालमा यसलाई सरकारको अनुचित हस्तक्षेप भन्दै आलोचना भइरहेको छ। (बीबीसी नेपालीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077