Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाली आकाशमा भारतको मनोमानी, महाकालीवारिको ब्यारेकमाथि किन उडिरहेको छ भारतीय हेलिकप्टर ?

काठमाडौं। एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण सेलाउन पाएको छैन। महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको अवस्था अझै पत्ता लागेको छैन।

उक्त घटनाको छानबिन गर्न गठित समितिलाई अनुसन्धान गर्नसमेत सहयोग नगरेको भारतले जयसिंहलाई खोज्न ड्रोन उठाउने अनुमति पनि दिएन। तर त्यही भारतले नेपाली आकाशमा निर्बाधरुपमा हेलिकप्टर उडाइरहेको छ।

नेपालको राष्ट्रियतामाथि नै असर गर्ने गरी अनुमाचि बिना भारतीय पक्षले हेलिकप्टर उडाउनु रहस्यमय बनेको छ। भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनाधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ। नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराइएको छ।

तर न भारतले अनाधिकृत उडान रोकेको छ न नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छ। महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो।

साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन। बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।

भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्तीमात्र होइन, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ। दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको थियो। लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो।

पत्रको बोधार्थ नेपाली सेनाको मुख्यालयलाई पनि पठाइएको थियो। सेनाको पत्रपछि प्रशासनले त्यसको जानकारी गृह मन्त्रालयलाई पनि पठायो। परराष्ट्रमार्फत पहल गर्नुपर्नेमा गृह मन्त्रालय नै मौन बसेको छ। यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077