Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पंजशीर कब्जा गरेको तालिबानको दाबी, पूवउपराष्ट्रपति भन्छन्–तालिबानको दाबी झुटो हो

एजेन्सी । तालिबानले पंजशीर उपत्यका पनि आफ्नो कब्जामा आएको दाबी गरेपनि अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले भने उक्त दाबी झुटो भएको बताएका छन् ।

तालिबानले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग पंजशीर आफ्नो कब्जामा आएको दाबी गरेको हो । पंजशीरमा तालिबानको विरोध गरिरहेको नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) मा हालै सामेल भएका पूर्वउपराष्ट्रपति सालेहले भने अवस्था निकै कठिन भए पनि तालिबानले उपत्यकामा कब्जा नगरेको बताएका छन् ।

उनले आफू त्यहाँबाट भागेको भन्ने कुरालाई पनि नकारेका छन् । शुक्रबारदेखि पंजशीरमा तालिबान र एनआरएफबीच संघर्ष जारी रहेको र सयौं मानिसको मृत्यु भएको बताइएको छ ।

बीबीसीलाई पठाएको भिडियो सन्देशमा पूर्वउपराष्ट्रपति सालेहले दुवै पक्षका मानिस मारिएको र केही घाइते भएको बताएका छन् । उनले भिडियोमा भनेका छन्,–‘यसमा कुनै सन्देह छैन कि हामी कठिन अवस्थामा छौं । तालिबानले लगातार हामीमाथि आक्रमण गरिरहेका छन् ।’

उनले तालिबानसामु आफूहरुले आत्मसमपर्ण नगर्ने पनि बताएका छन् । ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हामी अफगानिस्तानका लागि एक ठाउँमा उभिन्छौं,’ उनले भने । आफूले देश छाडेर भागेको भन्ने खबर झुटो भएको भन्दै उनले आफू पंजशीरमै रहेको पनि बताएका छन् ।

बीबीसीले भने उक्त भिडियो कहाँ पठाएको भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको जनाएको छ । एनआरएफका प्रवक्ता अली नजरीले बीबीसीसँगको कुराकानीमा विद्रोहीले तालिबानलाई धक्का दिएको बताएका छन् ।

राजधानी काबुलबाट एक घण्टाको दूरीमा रहेको यो उपत्यका तालिबानको कब्जाबाहिर रहेको एक मात्र प्रान्त हो । सन् १९९६ देखि २००१ सम्म तालिबानले सरकार चलाउँदा पनि पंजशीर उनीहरुको नियन्त्रणबाहिर रहेको थियो ।

पंजशीर अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो । यहाँ करिब २ लाख मानिसको बसोबास रहेको छ । उपत्यकाको बीचबाट पंजशीर नदी बग्दछ । चारैतर्फ ९ हजार ८ सय फीट उचाइका पहाडले घेरिएको छ पंजशीर । यहाँ सबैभन्दा बढी ताजिक मूलका मानिसको बसोबास रहेको छ ।

तालिबानको विरोध गरिरहेको एनआरएफमा अफगानिस्तानको सुरक्षा फौजमा रहेका सुरक्षाकर्मी र स्थानीय लडाकु समावेश छन् । उक्त समूहको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरेका छन् । उनका बुवा अहमद साह मसूद सन् १९८० को दशमा सोभियत संघ र सन् १९९०को दशकमा तालिबानविरुद्ध सशक्त रुपमा लडेका थिए । –एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077