Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

साढे चार महिनापछि खुल्यो पशुपतिनाथको मूल मन्दिर

काठमाडौं । पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ। विशेष पूजा भने आजदेखि खुला नगरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।

आज बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उनले सुनाए। साढे चार महिनापछि खोलिएको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ। साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार कोषले क्षमापूजा गरेको थियो।

विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो।

महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय मन्दिर खुला गरिएको थियो। यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ। कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको छ।

आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ। आज गणेश चतुर्थी पर्व परेकाले चन्द्रविनायक मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077