Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त राष्ट्रसङ्घद्वारा तालिबाको भत्सना, शान्तिपूर्ण आन्दोलनमा चार जनाको मृत्यु भएको दावी

एजेन्सी । अफगानिस्तानमा तालिबानले उसको विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको छ।राष्ट्रसङ्घका अनुसार तालिबानको दमनमा पछिल्ला प्रदर्शनहरूमा चार जनाको मृत्यु भइसकेको छ।

राष्ट्रसङ्घको विज्ञप्तिमा विगत केही साता विरोधप्रदर्शन दमन गर्न भएका हिंसात्मक बल प्रयोगमा एक बालकसहित चार जनाको मृत्यु भएको उल्लेख छ।

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनकारीमाथि तालिबान लडाकुले लाठी र कोर्रा प्रहार गर्नुका साथै गोली पनि चलाएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ।

‘शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गरिरहेका मानिसहरू र आन्दोलनको समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि बल प्रयोग र स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने काम तत्कालै रोक्न तालिबानलाई हाम्रो आग्रह छ ।’ राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ताले एउटा वक्तव्यमा भनेकी छन्।

गत अगस्टमा तालिबानले प्रादेशिक केन्द्रहरूमा नियन्त्रण कायम गर्न सुरु गरेको थियो। दुई हप्ताको अवधिमा तालिबान लडाकुहरूले राजधानी काबुललाई पनि कब्जा गरे।

अगस्ट अन्त्यमा आफ्ना सैनिकहरू अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी नेतृत्वको सेनाले एक लाख २० हजार मानिसलाई काबुल विमानस्थलबाट उद्धार गरेको जनाएको छ।

दुई दशकअघि न्यूयोर्कको ट्विन टावरमा भएको ९÷११ आक्रमणपछि अमेरिकी गठबन्धन सेनाले तालिबानलाई अफगानिस्तानबाट सत्ताच्युत गर्न कारबाही थालेको थियो। अहिले तालिबान पुनः शासनमा फर्किएको छ।

राष्ट्रसङ्घकी प्रवक्ता रविना शामदासानीले शुक्रवार भएको एक पत्रकार सम्मेलनमा तालिबानले बल प्रयोग गरेकोप्रति पनि आलोचना गरेकी छन्।

उनका अनुसार गत अगस्ट १५ पछि प्रदर्शनहरू बढ्दै गएका थिए तर तालिबानले बुधवारबाट अनधिकृत भेलाहरूमा प्रतिबन्ध लगाएको छ भने बिहीवारबाट मोबाइल इन्टरनेट बन्द गर्न दूरसञ्चार कम्पनीहरूलाई आदेश दिएको छ।

‘यो अत्यन्तै अनिश्चयको समयमा’ तालिबानले सडकमा भेला भएका महिला र पुरुषहरूको आवाज सुन्न आवश्यक भएको उनको भनाइ छ।

राष्ट्रसङ्घले पत्रकारहरूमाथि भएको हिंसाको पनि आलोचना गरेको छ। यसै साता प्रदर्शनको समाचार सङ्कलनमा क्रममा तालिबानले आफूहरूलाई नियन्त्रणमा लिएर पिट्नुका साथै कोर्रा लगाएको पत्रकारहरूले बताएका थिए। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077