Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले स्थायी कमिटीमा विधान संशोधनबारे छलफल

काठमाडौं– नेकपा एमालेको आसन्न विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल सुरु भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र सोमबार दिउँसो १ बजेको बैठकमा छलफल जारी रहने एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए।

आजको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिएका थिए।

यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन तय गरेको छ। एमालेकोे केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो।

विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ।

प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने तय गरिएको छ।

एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको छ। सो पार्टीले विसं २०७५ जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र विसं २०७५ जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077