Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सीआईडी हौं भन्दै राजमार्गमा आतंक मच्चाउने ६ जनाको समूह पक्राउ

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरीको सिआइडी हौं भन्दै राजमार्गमा आतंक मच्चाउने ६ जनाको समुहलाई पक्राउ गरेको छ। उनीहरुलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका–११ का २० वर्षीय निरन्जन तामाङ, २१ वर्षीय निरज कोइराला, १९ वर्षीय सुरज तामाङ, २० वर्षीय ओमराज गुरुङ, २० वर्षीय मनोज तामाङ र २० वर्षकै रिकेश कुँवर छन्। पक्राउ परेका सबै जना एकै गाउँका हुन्।

प्रहरीका अनुसार उनीहरुले गोरखा-आबुखैरेनी सडकखण्डमा मालबाहक ट्रकहरु रोकी आफूहरु प्रहरीको सिआइडी भएको भन्दै आतंक मच्चाउने काम गर्दै आएका थिए। यस्तै, उनीहरुले ट्रकहरुलाई बलजफ्ती रोकेर जथाभावी बोल्ने, धम्काउने, गरेको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसूरमा जिल्ला अदालत गोरखाबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077