Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियामा मासुका लागि प्रत्येक वर्ष काटिन्छन् १० लाख कुकुर

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउने सकिने बताएका छन्। अधिकांश कोरियाली नागरिकले कहिल्यै कुकुरको मासु खाएका छैनन् हालैका वर्षहरूमा यसको माग घटिरहेको बताइएको छ।

तर, बर्सेनी दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिन्छ। प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए।

कुकुरलाई माया गर्ने भनेर चिनिएका राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक हो। प्रधानमन्त्रीले अलपत्र छोडिएका जनावरहरूको सुरक्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए।

दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन छ तर त्यसको मासु खान प्रतिबन्धित छैन। तर, हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका छन्।

त्यस कारण त्यहाँका तीन ठूला कुकुरको मासु केन्द्रहरू बन्द भइसकेका छन्। सन् २०२० को एउटा सर्वेक्षणमा ८४ प्रतिशत कोरियालीले कहिल्यै कुकुरको मासु नखाएको वा भविष्यमा नखाने बताएका थिए।

सर्वेक्षणले ५९ प्रतिशत कोरियालीले कुकुरको मासु खान प्रतिबन्ध लगाउने पक्षमा रहेको देखाएको थियो। कुकुरको मासुमा प्रतिबन्धको माग गरिरहेका पशु अधिकार संस्थाहरूले मूनको भनाइलाई स्वागत गरेका छन्।

'दक्षिण कोरियालीहरूले बढ्दो सङ्ख्यामा कुकुरको मासु खाने कार्यलाई संस्कृतिभन्दा पशु दुर्व्यवहारको रूपमा लिइरहेका छन्,' कोरिया एनीमल राइट्स एड्भोकेट्सका प्रमुख जीन जे-होङले कोरिया टाइम्सलाई बताए।

अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनको बेला यो मुद्दाले चर्चा पाउन सक्ने बताइएको छ। केही उम्मेदवारहरूले कुकुरको मासुमा प्रतिबन्ध लगाउनु पर्ने बताइसकेका छन्। (बीबीसी:नेपाली)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077