बुटवल । लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी मुख्यमन्त्री बनेको ६० औं दिनमा मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रीपरिषद्ले पूर्णता पाएको हो ।
छ मन्त्री र चार राज्यमन्त्री थपिएसँगै आज लुम्बिनीमा जम्बो मन्त्रिपरिषद् बनेको हो । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।
आज नेपाली कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बनेका वसिउद्दिन खाँले शपथ लिएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् ।
एकीकृत समाजवादीबाट रमा आले कानून, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन् ।
कांग्रेसबाट अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल विक पर्यटन राज्यमन्त्री बनेकी छन् ।
त्
यसैगरी माओवादी केन्द्रबाट विमला खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी छन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
२८ साउनमा निुयक्त भएका मुख्यमन्त्री केसीले सोही दिन माओवादी केन्द्रका कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्ली चौधरी, जनता समाजवादी पार्टीका सहसराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री बनाएका थिए ।
चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास, खड्का आर्थिक मामिला तथा योजना, यादव भौतिक पूर्वाधार, रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था, ढेंगा श्रम, रोजगार तथा यातायात व्यवस्था र शाही उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।