काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउँदै छन् ।
अल्मुताइरीले बुधबार सामाजिक संजाल फेसबुकमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षको नयाँ सम्झौता गरेको उल्लेख गरेका थिए ।
गत चैतमा नेपालमै सम्पन्न थ्री नेसन्स कप पछि अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए । उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका थिए ।
उनको सम्झौता सन् २०२२ सेप्टेम्बर सम्म कायम नै थियो । त्यसमा उनले थप दुई वर्ष सम्झौता थप गरेका हुन् । एन्फा स्रोतले अल्मुताइरी शनिबार नेपाल आइपुग्ने र नयाँ सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिएको छ ।
साफ च्याम्पियनसिपको बन्द प्रशिक्षण दौरान दुई खेल पत्रकारसँग विवादमा मुछिएका अल्मुताइरीले उनीहरु एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको निर्देशनमा आफूविरुद्ध नियोजित रुपमा लागेको भन्दै सामाजिक संजालबाटै पहिलो पटक राजिनामा बुझाउन एन्फा जान लागेको घोषणा गरेका थिए ।
यद्यपी एन्फाका पदाधिकारीसँगको छलफलपछि उनी साफ च्याम्पियनसिप सम्मका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हाल्न सहमत भएका थिए ।
सो घटनाको खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन गरेको थियो । छानविनको प्रतिवेदन सार्वजनिक भएकै दिन अल्मुताइरीले पुन सामाजिक संजालबाटै राजिनामा घोषणा गरेका थिए ।
उनकै प्रशिक्षणमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग अंक बाँड्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।
अल्मुताइरीले बंगलादेशविरुद्धको खेलपछि साफ च्याम्पियनसिपको फाइनल नेपाली फुटबल टोलीबाट आफ्नो अन्तिम खेल हुने घोषाणा गरेका थिए ।
भारतविरुद्ध पराजित हुँदै साफ च्याम्पियनसिपको उपविजेतामा सीमित बनेपछि अल्मुताइरीले दुई साताको आरामपछि मात्र नेपाल फर्कने वा नफर्कने बारे अन्तिम निर्णय लिने बताएका थिए ।