Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इंग्ल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा, श्रीलंका समूह चरणबाटै बाहिरियो

एजेन्सी – आइसिसि टी–२० विश्वकपको अन्तर्गतको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । श्रीलंकाका वानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए ।

भानुका राजपक्षे र दासुन शनाका २६–२६ रनमा आउट भए । ओपनर पाथुम निसांका १ र कुशल परेरा ७ रनमा आउट भएका थिए । चारिथ असलंका २१ र अविष्का फर्नान्डो १३ रनमा आउट भए ।

इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर क्रिस जोर्डनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोईन अलीले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्स र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले ६७ बलमा ६ चौका र ६ छक्का सहित १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उनको यो टी–२० आई करिअरको पहिलो शतक हो ।

ओईन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्का सहित ४० रनमा आउट भए । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट, दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अष्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो । पहिलो चरणको समूह ए को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । अष्ट्रेलियासँग ७ विकेट र दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077