Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत टी–२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै

एजेन्सी । आइसिसि टी–२० विश्वकप २०२१ अन्तर्गतको खेलमा भारतले स्कटल्यान्डलाई ८ विकेटले हराएको छ। सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डमाथि फराकिलो जित निकाल्दै नेटरनरेटमा सुधार गरेर सेमिफाइनल पुग्न सम्भावना जीवितै राखेको छ।

जितका लागि ८६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। भारतका ओपनर लोकेश राहुलले १९ बलमा ६ चौका र ३ छक्का सहित ५० रनमा आउट भए।

रोहित शर्मा १६ बलमा ५ चौका र १ छक्का सहित ३० रनमा एलबीडब्लू आउट भए। सूर्यकुमार यादव ६ र विराट कोहली २ रनमा अविजित रहे।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड १७.४ ओभरमा ८५ रनमा अल आउट भएको थियो। स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १९ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २४ रन बनाए। कलुम म्याकलड १६ र माइकल लिस्क २१ रनमा आउट भए।

माइकल लिस्कले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। मार्क वाटले १३ बलमा २ चौका सहित १४ रन बनाए।

भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर मोहम्मद शामीले ३ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ३ विकेट लिए। जस्प्रित बुमराहले २ विकेट लिए। रविचन्द्रन आश्विनले एक विकेट हात पारे।

यो जितसँगै भारत तेस्रो स्थानमा उक्लिएको छ। भारतको ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ। भारतले अन्तिम खेलमा नामिबियालाई सोमबार विशाल अन्तरले हराउनु पर्छ। तर अन्तिम खेलमा आइतबार न्युजिल्यान्ड अफगानिस्तानसँग पराजित भएको खण्डमा मात्र भारत सेमिफाइनलमा पुग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077