Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आफ्नै पक्षका नेताहरुलाई मिलाउन ओलीलाई सकस, अध्यक्षका उम्मेदवार रावललाई भेट्नै भ्याएनन्

काठमाडौं । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पक्षका नेताहरुलाई समेत मिलाउन सकेका छैनन् ।

सौराहस्थित पार्क सफारी होटलमा बसेका उनी आज विहानैदेखि नेताहरुसँग समूहगत र एक्काएक्लै छलफलमा व्यस्त छन् । पदाधिकारीमा आप्mनै पक्षका नेताहरुले दावी नछाड्दा ओलीलाई पदाधिकारीको टुंगो लगाउन सकस भएको हो ।

केन्द्रीय सदस्यहरुका लागि लबिइङ गर्दै ओलीलाई भेट्न प्रतिनिधिहरु पनि होटलमा पुगेका छन् । जसले गर्दा बन्दसत्र स्थल सुनसान जस्तै बनेको छ भने ओली बसेको होटल भरिभराउ छन् ।

ओलीले अहिलेसम्म पदाधिकारीमै सहमति जुटाउन सकेका छैनन् । अध्यक्षमै उम्मेदवारी दिने भीम रावलको अडान कायमै छ ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन् । अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । तर, एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर, पौडेल सहमत भइसकेको छैन । १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार भएका छैनन् ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग सम्वाद गर्न भ्याएका छैनन् ।

विभिन्न पदका आकांक्षीहरू ओली बसेको पार्क सफारी रिसोर्ट आउन थालेका छन्। रिसोर्टमा भीड हुने अनुमान गरेर रिसोर्ट व्यवस्थापनले गार्डेनमा कुर्सी टेबलसमेत राखेको छ।

यही रिसोर्टमा ओलीको ‘कोर टीम’का नेताहरू बस्छन्। महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, पार्टी सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ,
केन्द्रीय सदस्य एवम् युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतलगायत यही रिसोर्टमा छन् ।

ओलीलाई भेट्न नपाए पनि ओलीलाई कुरा पुर्‍याउन सकिन्छ कि भनेर रिसोर्ट पुग्ने प्रतिनिधिहरुको संख्या बढ्दै गएको छ । ओलीले आफ्नै समूहका नेताहरुलाई मिलाउन नसक्दा भीम रावलसँग वार्ता समेत गर्न भ्याएका छैनन् । अहिलेसम्म रावल पनि ओली बसेको पार्क सफारीमा पुगेका छैनन्।

यद्यपी, नयाँ पदाधिकारी र केन्द्रीय सदस्य पार्क सफारी रिसोर्टबाट घोषणा हुने संभावना बढ्दै गएको एक केन्द्रीय सदस्यले अनलाईन नेपाललाई बताए ।

औपचारिक घोषणा गर्न महाधिवेशनस्थल जाने भए पनि नेताहरूले लिष्ट भने रिसोर्टमै तयार पार्ने उनको दावी छ । यता, बन्दसत्र भइरहेको होटल सेभेन स्टारमा भने महाधिवेशन प्रतिनिधिहरू मात्रै हुँदा चुनावी माहौल छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077