Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मंसिर २२ गते सार्वजनिक बिदा, ३ दिन सबै विद्यालय बन्द

जनकपुर । प्रदेश २ सरकारले मंसिर २२ गते सार्वजनिक बिदा दिने भएको छ। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो। त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिएका छन्।

विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थालाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको बताइएको छ।

गत शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार वैवाहिक कार्यक्रम छ। सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रबार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिबार फूलबारी लिला सम्पन्न गरिएको हो।

आइतबार धनुषयज्ञ गरिएको छ। महोत्सवअन्तर्गत सोमबार तिलकोत्सव, मङ्गलबार मटको, बुधबार शुभविवाह रहेको छ। बिहीबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077