Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: यस्तो छ कार्यतालिका (तालिकासहित)

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगले मंगलबार विज्ञप्तिमार्फत् निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने गरी मिति तोकिएको जानकारी दिएको छ ।

यस्तै, पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ।

आयोगले जारी गरेको स्वीकृत कार्यतालिका अनुसार पुस १८ र १९ गते निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ।

पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

मतदान माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077