Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

आइतबार भएको फाइनलमा एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन् । यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।

एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077