Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

भ्रष्टाचारलाई घृणा गर्न एमाले अध्यक्ष ओलीको आग्रह

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।

झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।

'देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ', ओलीले भने, 'भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।'

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे । ओलीले भने, 'काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।'

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताए । ओलीले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे । नेपाल निजामति कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए ।

दुई तले भवनको कूल लागत रू एक करोड ८८ लाख नौ हजार ५७० रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077