Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पराजित भएका र उम्मेदवार नै नभएका नेतालाई राखेर कार्यसम्पादन समिति गठन गर्दै देउवा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने गृहकार्य थालेका छन् ।

केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि कार्यसम्पादन समिति गठन गर्न लागिएको बताइए पनि देउवाले भने महाधिवेशनमा पराजित भएका र उम्मेदवार नै नभएका शीर्ष नेतालाई समेट्नका लागि यो रणनीति अघि सारेको कांग्रेसी नेताहरुकै भनाई छ ।

शीर्ष नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका देउवाले कार्यसम्पादन समितिमा जिम्मेवारी दिने तयारी गरेका छन्। रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेता उम्मेदवार नै भएका थिएनन् भने विजयकुमार गच्छदार, प्रकाशशरण महतलगायत नेता पराजित भएका थिए।

उनीहरुलाई नै समेट्नका लागि देउवाले कार्यसम्पादन समिति गठनको तयारी थालेका हुन् । विधानअनुसार केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री कार्यसम्पादन समितिमा पदेन सदस्य हुन्छन्।

सभापतिले केन्द्रीय सदस्यमध्येबाट कार्यसम्पादन समितिका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर ३१ जनाको नाम प्रस्ताव गर्ने र बहुमतले पारित गर्ने विधानको व्यवस्था छ। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नुपर्ने हुन्छ।

केन्द्रीय कार्यसम्पादन समिति गठनकै लागि शुृक्रबार कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । भर्चुअल बस्ने बैठकमा समिति गठनको प्रस्ताव पेश गर्न तयारी भएको महामन्त्री गगनकुमार थापाले जानकारी दिइसकेका छन्।

के हो केन्द्रीय समितिको काम ?
केन्द्रीय समितिको बैठक बस्न नसक्ने अवस्थामा अपर्झट निर्णय गर्नुपर्दा कार्यसम्पादन समितिले काम गर्छ। कांग्रेसका झन्डै ५० विभागहरूको काम समीक्षा गर्छ। संसदीय दलका विषय समितिका संयोजकसँग छलफल गर्छ।

केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकका बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ। कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने विधानको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077