Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सयौं नेपालीलाई दुवईमा अलपत्र पार्ने ‘मानव तस्कर’का अगाडि श्रममन्त्री श्रेष्ठ निरीह, पत्रकार सम्मेलनकै बेला कसरी आयो फोन ?

काठमाडौं । सयौं नेपालीलाई रोजगारीको आश्वासन दिएर लाखौं रकम असुली गरी दुबई पुर्याएर अलपत्र पार्ने ‘मानव तस्कर’ कोमलराज उपाध्याय अगाडि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ निरीह सावित भएका छन् ।

विहिबार भिजिट भिषामा दुबई पुगेर विचल्लित भएपछि फर्किएका नेपालीलाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमै मन्त्री श्रेष्ठले ‘मानव तस्कर’को संज्ञा पाएका कोमलराज उपाध्यायसँग फोनमा कुरा गर्दै आक्रोसित हुँदै चेतावनी दिएपनि तस्करलाई सूचना दिएर उन्मुक्ति दिने कोशिस गरेको प्रष्टै देखिन्थ्यो ।

मन्त्री आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा दुबईबाट फर्किएकाहरुले झण्डै ६ लाख सम्म बुझाएको र उपाध्यायको क्याम्पमा अहिले पनि १२८ जना नेपाली अलपत्र अवस्थामा रहेको बताएका थिए ।

उपाध्याय त्रिनेत्र कन्सलटेन्सीका सञ्चालक हुन् । भिजिट भिषामा पुगेर विचलित भएपछि फर्किएका नेपाली युवाहरु त्यही त्रिनेत्र कन्सलटेन्सीमार्फत नै रोजगारीको आशमा दुवई पुगेका थिए । यद्यपी अहिले नेपाल फर्किएकाहरु भने उनै उपाध्यायकै खर्चमा नेपाल आएका हुन् । तर, श्रम मन्त्री श्रेष्ठले उक्त कार्यक्रममा आफ्नो पहलमा नेपाली फिर्ता भएको बताएका थिए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले ‘त्रिनेत्र कन्सल्टेन्सी भन्नेले झूटा फेक डिमान्ड लेटर बनाएर सोझा साझा नेपाली दाजुभाईलाई ठग्ने प्रयास गरेको देखियो’ भन्दै ‘मानव तस्कर’ उपाध्यायलाई ठग मात्रै भन्न खोजिरहेका थिए । जबकी नेपाली दाजु भाईहरु भिजिट भिषामा त्रिनेत्रबाट ठगिएर दुबई विचल्ली भएर पनि फर्किएका छन् ।

कार्यक्रममा उपस्थित भएका पीडितहरुले आफ्नो पीडा सुनाइरहेका बेला उनै तस्कर उपाध्यायले सिधै मन्त्री श्रेष्ठको मोबाइलमा फोन गर्छन् । पत्रकार सम्मेलनमै उपाध्यायको फोन मन्त्रीको मोवाइलमा आउनु संयोगमात्र मान्न सकिन्न । त्यसमाथि मन्त्री आफैले ‘पैसा कमाउनका लागि सोझा सिधालाई ठग्नु भयो त्यो त ठिकै हो । तर, कुटपिट पनि त भएको छ ।’ भन्दै सान्तवना दिने शैलीमा कुरा समेत गरे ।

उपाध्यायले ‘दाई नमस्ते’ भन्दै फोन गरेपछि मन्त्री श्रेष्ठले भने राजन भाई भन्दै कुरा गरेका छन् । फोनमा मन्त्री श्रेष्ठ भन्छन्–‘राजन भाई तपाईले अहिले १०/१२ जना मात्रै मान्छे पठाको छ । तपाईंको क्याम्पमा मात्रै १ सय २८ जना भन्ने आएको छ । तपाईंलाई मैले स्पष्ट भनेको छु । तपाईं गल्ति स्विकार्नुस् । कि चित्त बुझाएर काम लगाउनुस् । होइन भने छिटोभन्दा छिटो नेपाल पठाउने काम गर्नुस् । नत्र भने म आफै २÷४ दिन भित्रमा नेपाल प्रहरी लिएर आउँदैछु । दुबईमा छु भनेर सुरक्षित छु भनेर नसोच्नुस् है भाई । मेरो कुरा स्पष्ट छ । मेरो कुनैपनि तपाईंसँग जातिय दुष्मनी छैन । तर, नेपाली दाजुभाईलाई दुख दिनुभएको छ यो चाहीँ मैले छोड्दैन ।’

[insert page='108429' display='yopanipadhnuhos.php']

यसरी मानव तस्करलाई म आउँदैछु भनेर सूचना दिनु ठिके हो ? मन्त्री श्रेष्ठले आक्रोशित हुँदै उपाध्यायलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिंदै आफू नबच्ने भएपछि आफूभन्दा तलका दलालहरुलाई समेत चेतावनी दिन अह्राए ।

उनले भने–‘तपाईं नबच्ने भएपछि एयरपोर्ट सेटिङवालालाई किन छोड्नु हुन्छ ? त्यो सबैकुरो पर्दाफास गर्नुपर्छ अब यहाँ । तपाईं उम्कनेवाला छैन । योचाहि विचार गर्नुस् । अरु श्रम मन्त्री जस्तो होइन किसान श्रेष्ठ हो । धेरै कुरा म फिल्डमा आएपछि कसैले पनि तपाईंलाई जोगाउन सक्दैन ।’

मन्त्री श्रेष्ठले फेरि पनि ‘तपाईंहरुलै पैसा कमाउनका लागि सोझा साझा नेपालाई लानु भयो त्यो ठीक छ । तर कुटपीट गर्नुभएको छ । यो त माफ गर्ने हिसाबको तपाईंको कुरा छ ? भन्दै गाली गरेका छनन् । मन्त्री श्रेष्ठले नेपालीलाई ठगी गर्ने मानव तस्करलाई सहयोग समेत मागेका छन् । ‘तपाईंले सहयोग गर्नुस् । तपार्ईं इमान्दार हुनुस् । को दलाली हो । त्यसको नेमलिस्ट बेलुका मलाई पठाउनुस् बेलुका ह्वाट्स एपमा,’ प्रमुख मानव तस्करसँगै दलालको लिस्ट माग्दै मन्त्री श्रेष्ठले भनेका छन्–‘तपाईंले कति पैसा लिनु भएको छ यो गरिबहरुको पाइ–पाइ पैसा फिर्ता दिनुपर्छ । कसरी फिर्ता लिनुपर्छ राम्रोसँग बुझेको छ यो किसान श्रेष्ठले ।’

यसरी सयौं नेपालीलाई अलपत्र पार्ने तस्करलाई कारबाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनुको साटो मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमै फोन गर्न लगाएर चेतावनी दिएको शैलीमा काम गरेको देखाउनु ठिक नभएको आवन उठ्न थालिसकेका छन् ।

मन्त्री श्रेष्ठलाई दाई भन्दै फोन गर्ने ‘मानव तस्कर’ उपाध्यायले अब दुबईमा बाँकी रहेका नेपालीहरुलाई कहिले र कसरी पठाउँछन् ? त्यसपछि मात्रै मन्त्री र उनको सम्म्बन्धबारे खुल्ने विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077