Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विद्युतीय कारोबारमा ठगी बढ्दै, सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    विद्युतीय कारोबारमा ठगी बढ्दै, सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।

    शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो।



    यस्तो छ बैंकले जारी गरेको सूचना:



    १. सामाजिक सञ्जालमार्फत् चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेभसाइट बनाइ ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाइ उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाइ गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ।

    २. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ। यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ।

    ३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट मेसेज पठाइ रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे/नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनुपर्दछ।

    ४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन। यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन्।

    ५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शंकास्पद रुपमा लिनुपर्दछ। रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोर्ड अथवा पासवर्ड पठाउन आवश्यक छैन।

    ६. कुनै पनि वेबसाइटमार्फत् विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ। कुनै पनि वेबसाइटको ठेगाना एचटीटीपीएसबाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना एचटीटीपीएसबाट सुरु भए/नभएको यकीन गर्नुपर्दछ।

    ७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवं नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाइसम्बन्धी पोर्टल ‘गुनासो डट एनआरबी डट ओआरजी डट एनपी’मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार