Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धनुषा र सर्लाहीबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय र एक नेपाली पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषा र सर्लाहीबाट लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

धुनषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दुधमती चोकमा सोही ठाउँका रवि साहले सञ्चालन गरेको फलफुल पसलमा गाँजा बिक्री गरिरहेको फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पसलमा खानतलासी गर्दा डिस्पोजल झोला भित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको १३ थान पुरिया बरामद भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार बरामद भएका गाँजाको तौल ९० ग्राम रहेको छ ।

गाँजा बरामद भएपछि साथै फलफुल पसलका सञ्चालक रवि साहको छोरा १९ बर्षका अरूण कुमार साहलाई पसलबाटै नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिन म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सर्लाही प्रहरीले लागूऔषध गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।

मलगंवा नगरपालिका ८ मा चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना.२ ह १५६७ नम्बरको टेम्पोबाट १० किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टेम्पोमा सवार भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला राजा प्रसोनी ग्राम पंचायत १ बस्ने २३ बर्षीय साकिर, सोही ठाउँका वडा नम्बर ९ बस्ने ३५ बर्षीय नुर महमद राई र शिवहर ग्राम पंचायत सलिमपुर वडा नम्बर १३ बस्ने २० बर्षीय नसु आलमलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077