काभ्रेपलान्चोक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाए ।
आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको सिंहले बताए ।
नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसिसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गरे।
नेता सिंहले विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गरे । नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे ।
त्यस्तै उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए ।