Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

व्यवसायीको हत्या गर्न लेखापालले दिए भारतीय सुटरलाई २५ लाखको सुपारी

सर्लाही । व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिने बागमती नगरपालिकाका लेखापाल विश्वराज पोखरेलको समूहलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । पोखरेलसँगै उनका सहयोगी शिक्षक सुरेन्द्र सिंहलगायत पनि फरार रहेका छन् । बागमती नगरपालिकाका लेखापाल पोखरेलको योजनामा भारतीय सुटरहरूले रायमाझीमाथि गत असोज २५ गते हरिवन बजारको कडरिया चोकमा गोली हान्ने प्रयास गरेका थिए । तर, रायमाझी भाग्यले बाँचेका थिए ।

घटना लगत्तै रायमाझीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पोखरेलेसहित ८ जनाविरुद्ध किटानी जाहेरी दिए । जिल्ला अदालत सर्लाहीले पुस २२ गते नै हत्याका योजनाकार पोखरेल र सुटर मगाउने सिंहलगायतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएलगत्तै उनीहरु फरार भएका छन् । दुई महिना वितिसक्दा पनि प्रहरीले पोखरेल र सिंहलाई पक्राउ गर्न नसक्नु रहस्यमय मानिएको छ ।

हरिवन नगरपालिका–९ घर भएका पोखरेल र बलरा नगरपालिका–१ घर भएका नरहरगञ्ज प्राविका शिक्षक सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएर गाेली हान्न लगाएको प्रहरी अनुसन्धानका क्रममा खुलिसकेको छ । रायमाझीको हत्या गर्न भारतीय सुटरहरुले फलो गरिरहेको सिसीटिभी फुटेजबाट पनि पुष्टि भइसकेको छ ।

सुटरमध्येका एकजना व्यक्तिले हत्या योजनबारे बयान दिएपछि प्रहरी नै चकित परेको थियो । तर, योजनाकारहरु अझै पक्राउ परेका छैनन् । पोखरेलकै योजनामा रायमाझीमाथि गोली प्रहार गर्न खोजिएको ती व्यक्तिले बयान दिएका थिए । ती व्यक्तिले दिएको बयान अनुसार पोखरेलले २५ लाखमा व्यवसायी रायमाझीको हत्या गर्न सुपारी दिएका थिए । सोमध्ये १५ लाख नेपाली रुपैयाँ र दुईओटा पल्सर मोटरसाइकल अग्रिम दिइसकेको अनुसन्धानका क्रममा खुलेको छ ।

रायमाझीलाई कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले गोली हान्ने प्रयास गरेपनि उनी भाग्यले बाँच्न सफल भएका थिए । रायमाझीले ‘टार्गेट मिस’ हुँदा आफू बाँच्न सफल भएको प्रहरीसामु बताएका छन् ।

रायमाझीको हत्या गर्न आएका भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह, र अरुण कुमार सिंह हरिवन नगरपालिका–११ मा रहेको हरिबहादुर बस्नेतको होटलमा २०७८ असोज २४ मा बसेका थिए । रायमाझीको निगरानी गरेपछि असोज २५ मा बिहान ५ देखि साढे ७ बजेसम्ममा गोली हान्ने प्रयास गरेको सिसिटिभी फुटेजमा कैद दृश्यले देखाएको छ ।

सर्लाही प्रहरीले सुटरहरुलाई पक्राउ गर्न नसकेपछि यो घटना अहिले केन्द्रसम्म पुगेको छ । घटनाको विषयमा अपराध महाशाखादेखि सिआईबीसम्मले अनुसन्धान गरिरहेका छन् । तर, भारतीय सुटरहरु र योजनाकार पोखरेल भने अझै पक्राउ पर्न सकेका छैनन् ।

न्यू प्रभात हार्डवेयर, लालबन्दी प्रभाव हार्डवेयर प्रा.लि., डाली मार्ट प्रा.लि. (डिपार्टमेन्ट स्टोर) र बागमती सेन्ड प्रेसेसिङ प्लान्ट (क्रसर उद्योग) लगायतका फार्महरुका सञ्चालक रायमाझीले पक्राउ पूर्जी जारी भएका अभियुक्तहरु खुलेआम घुमिरहँदा पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेकोप्रति गुनासो गरेका छन् ।

व्यवसायी रायमाझी र लेखापाल पोखरेलबीच जग्गामा किचलो रहेका कारण पोखरेलले हत्यासम्मको योजना बनाएको प्रहरी स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077