Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डलाई हजार जिब्रा भएको शेषनागको सज्ञा दिंदै ओलीले भने–कंग्रेसको बुढो रुख विस्तारै ढल्दैछ

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकोप्रति कटाक्ष गर्दै कंग्रेसको बुढो रुख विस्तारै ढल्ने बताएका छन् । उनले चुनाव चिह्नमा हरियो रङ राख्दैमा कांग्रेसको रुख हरियो नहुने टिप्पणी समेत गरे ।

अध्यक्ष ओलीले कांग्रेसलाई ‘सुख्खा परेको बाँझो खेत’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘हजार जिब्रा भएको शेषनाग’ भएको संज्ञा दिएका हुन् ।

एमाले मोरङले बुधबार रंगेलीमा आयोजना गरेको ‘तराई मधेस बृहत् जनसभा’मा अध्यक्ष ओलीले कांग्रेस सुख्खा परेको बाँझो खेत भएकाले केही नउम्रिने टिप्पणी गरेका हुन् । उनले भने–‘कांग्रेसको बुढो रुख बिस्तारै ढल्दैछ अब हरियो हुनेवाला छैन । तर बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्ने निर्णय गरेको छ ।’

ओलीले भने–‘पुष्पकमल दाहाल दुई जिब्रे होइन, हजार जिब्रा भएका शेष नाग हुन् । बिहानदेखि रातिसम्मै उनको छिनछिनमा फरक फरक कुरा हुन्छ । त्यसखालको पार्टी हो माओवादी पार्टी । दाहालले कहिले मान्छे मार्न लगाएका छन् कहिले जनयुद्ध भनेर मान्छे होमिदिएका छन् अनि आफ्ना र आफ्ना परिवार, आफन्तका निम्ति काम गरेका छन् ।’

कार्यक्रममा ओलीले ओलीले कुनै पार्टीको चुनाव चिन्हको रङसँग मिल्ने मतपत्रको चुनाव चिह्नको रङ राख्न नहुने तर्क गरे । निर्वाचन आयोगले भने मंगलबार मतपत्रको रङ हरियो हुँदा स्पष्ट देखिने भएकाले उक्त रङको प्रयोग गरिएको जनाएको थियो ।

कार्यक्रममा उनले अबको विजय यात्रा एमालेको भएको पनि बताए । उनले भने–‘एमालेको सरकार जनताले ढालेको छैन जनताको आशिर्वाद एमालेसँग छ । हामी स्थानीय तहबाट विजयको यात्रा सुरु गर्छौं किनकि अबको विजय यात्रा एमालेको हो ।’

माधवकुमार नेपालसमूहप्रति इंगित गर्दै अध्यक्ष ओलीले एमालेभित्र अगाडिदेखि घुसपैठ गरेर बसेका केही ‘नक्कली मान्छे’हरुले पार्टी मजबुत भएपछि फेदमै बञ्चरो हानेकाले सरकारबाट बाहिर बस्नु परेको बताए । अहिले उनीहरु पिलो निचोरिए जस्तो भएको ओलीले टिप्पणी गरे । उनले भने–‘उनीहरु गएर एमालेलाई हाइसञ्चो भएको छ र एमालेबाट चोइटिएर गए पनि पार्टीलाई कुनै नोक्सान भएको छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077