Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई कांग्रेस महामन्त्री शर्माको काउन्टर: मतपत्रको रङभन्दा आफ्नो ढंग सच्याउनु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन आग्रह गरेका छन्।

एमाले अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमामाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन आग्रह समेत गरेका हुन्।

महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख समेत गरे। रङको विषयलाई लिएर पूर् प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने शर्माको भनाइ छ।

यस्तै, महामन्त्री शर्माले अध्यक्ष ओलीलाई मतपत्रको रङ भन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए । 'कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ। मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला?  मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला। ' शर्माले भने।

यसअघि आजै बिहान कांग्रेस नेता प्रदीप पौडेलले पनि चुनावी परिणाम रङका आधारमा तय नहुने दाबी गरेका थिए।ओलीकै भनाइलाई काउन्टर दिँदै नेता पौडेलले चुनाव रङ्ले नभई आफूले गरेको कर्मको आधारमा जित्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘चुनाव रङ्ले जितिने होईन आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो । बहुमतको सरकारले विगतमा जनताका लागि के कति कर्म गर्यो ? फर्केर हेर्नुहोस।’

यस्तै पौडेलले एमाले अध्यक्ष ओलीलाई रोई कराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ नभएको बताए। ‘हिजो गरेको कर्मको आधरमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ,’ पौडेलले लेखेका छन्, ‘रोई कराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077