Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

व्यापारीको हत्या गर्न भारतीय सुटरलाई २५ लाखको सुपारी दिने लेखा अधिकृत थुनामा

सर्लाही । सर्लाहीको हरिवन निवासी व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न भारतीय सुटरलाई ‘सुपारी’ दिएको आरोप लागेका बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल पक्राउ परेका छन् ।

रायमाझीको किटानी जाहेरीपछि गत पुसदेखि फरार रहेका उनलाई म्याग्दीबाट पक्राउ गरी सलाईही ल्याइएको हो । हरिवन–९ का रायमाझीलाई गत आइतबार म्याग्दीको रघुगंगा–१ तिप्ल्याङबाट पक्राउ ल्याइएको सर्लाही प्रहरीले जनाएको छ । अदालतबाट हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी कृष्ण प्रसाईंले बताएका छन् ।

व्यवसायी रायमाझीले जाहेरीसहित भारतीय सुटरसँगको कुराकानी, गोली हान्न उनको घर आसपास सुटरहरूको ‘रेकी’ को दृश्य र लेखा अधिकृत पोखरेलले गोप्य योजना बनाउने क्रममा मोबाइलमा रेकर्ड भएका कुराकानीसमेत जिल्ला प्रहरीमा बुझाएका छन् । पोखरेलविरुद्ध गत पुस २२ मा पक्राउ पुर्जी जारी भएको थियो ।

फरार पोखरेलले यसबीच १५ वटाभन्दा बढी सिमकार्ड र फरक–फरक मोबाइल सेट प्रयोग गरेकाले पक्राउ गर्न ढिला भएको प्रहरीले जनाएको छ ।

बागमती नगरपालिकाका लेखापाल पोखरेलको योजनामा भारतीय सुटरहरूले रायमाझीमाथि गत असोज २५ गते हरिवन बजारको कडरिया चोकमा गोली हान्ने प्रयास गरेका थिए । तर, रायमाझी भाग्यले बाँचेका थिए ।

हरिवन नगरपालिका–९ घर भएका पोखरेल र बलरा नगरपालिका–१ घर भएका नरहरगञ्ज प्राविका शिक्षक सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएर गोली हान्न लगाएको प्रहरी अनुसन्धानका क्रममा खुलिसकेको छ । रायमाझीको हत्या गर्न भारतीय सुटरहरुले फलो गरिरहेको सिसीटिभी फुटेजबाट पनि पुष्टि भइसकेको छ ।

सुटरमध्येका एकजना व्यक्तिले हत्या योजनबारे बयान दिएपछि प्रहरी नै चकित परेको थियो । पोखरेलकै योजनामा रायमाझीमाथि गोली प्रहार गर्न खोजिएको ती व्यक्तिले बयान दिएका थिए । ती व्यक्तिले दिएको बयान अनुसार पोखरेलले २५ लाखमा व्यवसायी रायमाझीको हत्या गर्न सुपारी दिएका थिए । सोमध्ये १५ लाख नेपाली रुपैयाँ र दुईओटा पल्सर मोटरसाइकल अग्रिम दिइसकेको अनुसन्धानका क्रममा खुलेको छ ।

रायमाझीलाई कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले गोली हान्ने प्रयास गरेपनि उनी भाग्यले बाँच्न सफल भएका थिए । रायमाझीले ‘टार्गेट मिस’ हुँदा आफू बाँच्न सफल भएको प्रहरीसामु बताएका छन् । उनले प्रहरीलाई सबै प्रमाण दिएको पनि बताएका छन् ।

हरिवन जिल्ला अदालतमा रायमाझीविरुद्ध सँधियार लक्ष्मीदेवी पोखरेलले मुद्दा हालेकी छन् । राजमार्गसँग जोडिएको रायमाझीको जमिनमा लक्ष्मीदेवीको घर छ । उनको आफ्नै एक कट्ठा जग्गालाई बाटोले भेट्दैन । बसोबास रहेको ठाउँ नछाड्न लक्ष्मीदेवीलाई आफन्तले सल्लाह दिए । उनले रायमाझीविरुद्ध मुद्दा हालिन्, बास सारिनन् । किचलो भइरहँदा लक्ष्मीदेवीका आफन्त विश्वराजले रायमाझीलाई तह लगाउन षड्यन्त्र गरेको आरोप छ ।

सोमबार सर्लाही जिल्ला अदालतबाट पहिलोपटक ५ दिने म्याद लिएर पोखरेललाई हिरासतमै राखी अनुसन्धान सूरु गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077