Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनसँगको युद्धमा आफुले ठूलो क्षति बेहोरेको रुसद्वारा स्वीकार

एजेन्सी। युक्रेनमाथि आक्रमण गरेको ४४ औँ दिन पुग्दा युद्धमा आफुले ठूलो क्षति बेहोरेको रुसले स्वीकार गरेको छ।

राष्ट्रपतिका प्रवक्ता दीमित्री पेस्कोभले ब्रिटिश टेलिभिजन च्यानल स्काइ न्यूजलाई रुसी सेनाको क्षति 'हाम्रालागि ठूलो दुस्खान्त हो' भनेका छन्।

उनले मस्कोले उसको युद्धको लक्ष्य आउँदा दिनमा प्राप्त गर्नेछ भन्ने आशा राखेको बताए।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्‌बाट बुधवार रुसलाई निष्कासन गरेपछि पेस्कोभको त्यस्तो प्रतिक्रिया आएको छ।

संयुक्त राष्ट्र सङ्घका १९३ मध्ये ९३ देशले रुसको विरुद्धमा मतदान गरेका थिए।उनीहरूले रुसले आफ्नो नियन्त्रणमा रहँदा बुचा शहरमा गरेको आम मानव अधिकार उल्लङ्घनको आलोचना गरेका थिए।

त्यसको प्रतिक्रियामा रुसले परिषद्‌बाट राजीनामा दिएको छ।

परिषद्ले युक्रेनमा जारी मानव अधिकार तथा मानवीय सङ्कटप्रति गहिरो चासो व्यक्त गरेको छ। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बोरोदीयङ्कामा थप अत्याचार गरेको बताएका छन्।

पेस्कोभले बुचामा भएको घटनामा रुसले त्यहाँ ठूलो सङ्ख्यामा आफ्ना सैनिक गुमाएको बताए।

२५ मार्चका दिन रुसको रक्षा मन्त्रालयले युद्धमा उसका १,३५१ जना सैनिक मारिएको बताएको थियो।

युक्रेनले भने १९ हजार रुसी सैनिक मारिएको बताएको छ।

रुस र युक्रेनको अनुमानित रुसी फौज मारिएको भन्ने तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

र विश्लेषकहरूले रुसले आफ्नो तर्फको सैन्य हताहती सङ्ख्यालाई घटाएको हुनसक्ने ठानिरहेका छन् र युक्रेनले आफ्नो नैतिक बल बलियो बनाउन सङ्ख्या बढाएको हुन सक्ने ठान्छन्।

पश्चिमा नेताहरू ७ हजारदेखि १५ हजार रुसी सेना मारिएको विश्वास गर्छन्।सन् २००० देखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता रहँदै आएका पेस्कोभले रुसले युद्ध अन्त्यका उपायको खोजी गरिरहेको दाबी गरेका छन्।

रुसले किएभबाट आफ्ना सेना पछाडि हटाएको छ र उसको युद्धलाई पूर्वी युक्रेनी क्षेत्रमा केन्द्रित गरेको छ तर लडाइँ अन्त्य हुने सङ्केत देखिएको छैन।

युक्रेनका उपप्रधानमन्त्रीले पूर्वी युक्रेनका बासिन्दालाई भाग्न सकेसम्म भाग्न भनेका छन् र त्यहाँ गोलाबारी भइरहेका कारण उद्धारको काममा अवरोध उत्पन्न भएको छ। -बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077