Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीप्रति लक्षित गर्दै चिनियाँ राजदूत यान्छीले भनिन्–नेपाल कुनै देशको रणमैदान हुन सक्दैन

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कुनै पनि देशको भूराजनीतिक खेलको रणमैदान हुन नसक्ने बताएकी छन् । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिंदै उनले नेपाल र चीनबीचको सम्बन्ध असल छिमेकीको रहेको भन्दै नेपाल चीनको असल छिमेकी र मित्र रहेको यो सधै रहिरहने बताएकी छन् ।

नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैंचा’ हुनुपर्ने बताउँदै उनले भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नसक्ने बताएकी हुन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले दुई देशले सधैं एकअर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नु पर्ने बताएकी छन् ।

‘नेपाली संसदले भर्खरै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरेको छ, जुन अमेरिकाको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ को एक हिस्सा मानिन्छ। यो योजनाले बीआरआईसँग प्रतिस्पर्धा गर्ने केही विदेशी सञ्चारमाध्यमले जनाएका छन्। तपाईँलाई यस विषयमा के लाग्छ ? यी दुई कसरी फरक छन् ?’ भन्ने पत्रकारको प्रश्नमा राजदूत यान्छीले चीन र नेपालले बीआरआई साझेदारीबाट प्राप्त गर्ने फाइदाहरुलाई अन्य कुनै देशले प्रतिस्थापन गर्न नसक्ने दावी गरेकी छन् ।

अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्–‘देशहरुकाबीच मित्रपूर्ण साझेदारका लागि नेपाल ‘प्रदर्शन बगैँचा (डमोनस्ट्रेसन गार्डन)’ हुनुपर्छ न कि भूराजनीतिक खेलका लागि ‘कुस्ती मैदान (फाइटिङ रिङ)’। चीन र नेपालले सडक, एयरपोर्ट, बिद्युत, जल संरक्षण जस्ता पूर्वाधार निर्माणमा फलदायी साझेदारी गरेका छन्।

प्रविधि, अनुभव र पुँजीका हिसाबले चीनको फाइदाका साथै चीन र नेपाल हिमाल र नदीले जोडिएको तथा भौगोलिक रूपमा नजिक रहेको तथ्यले गर्दा पनि हो। यो पनि हो कि चिनियाँ जनता नेपाली जनताप्रति इमान्दार र निःस्वार्थी छन्। नेपालसँगको मित्रतालाई विना शर्त समर्थन गर्दै पनि आएका छन्। यसो पनि भन्न सक्छौँ कि चीन र नेपालले बीआरआई साझेदारीबाट प्राप्त गर्ने फाइदाहरुलाई अन्य कुनै देशले प्रतिस्थापन गर्न सक्दैनन्।

महामारी र नेपालको राजनीतिक परिस्थितिमा आएको परिवर्तनजस्ता कारणले दुई देशबिचको व्यावहारिक सहयोगको गति सुस्त भएका छन्। यद्यपि, चीनमा एउटा भनाइ छ–‘दुरीले अश्वशक्ति थाहा हुन्छ, लामो समयले जनताको मन देख्छ।’ मलाई विश्वास छ कि दुई देशबिचको महान साझेदारीलाई कुनै तत्वले पनि हस्तक्षेप गर्न सक्दैन। नेपालका जनताहरु बीआरआईबाट फाइदामा छन्। र, सँधै फाइदामै रहने छन्। यस कुरामा म विश्वस्त छु।

हामीले बुझ्नुपर्ने के हो भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरी, नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानको पूर्ण सम्मान गर्दै अरु देशसँग प्रतिस्पर्धा नगरी कुनै भू–राजनीतिक खेलमा संलग्न नभई नेपालको आर्थिक तथा सामाजिक विकास, नेपाली जनताको जीवनस्तर उकास्न चीनको सँधै सहयोग रहेको छ। एउटा अल्प विकसित देशको रुपमा नेपाललाई आफ्नो आर्थिक विकासका विभिन्न स्रोतहरुको आवश्यक छ भन्ने चीनले बुझेको छ र सम्मान गरेको छ। र, नेपाल अन्य देशहरु सँगसँगै अगाडि बढेको देख्दा चीन खुशी छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077