Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मौन अवधिमा पनि जताततै झडप

काठमाडौं । निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरुबीचको झडप बढ्न थालेको छ । मौन अवधि शुरु भइसकेको अवस्थामा पनि झडप भइरहेका छन् । धादिङ, गोरखा, रोल्पा, ओखलढुंगा, पाँचथरलगायतका जिल्लामा झडप भएका छन् ।

धादिङमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो । नीलकण्ठ नगरपालिका–६ भोर्लेमा झडप हुँदा २० जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

मौन अवधिमा भोट माग्न हिँडेको निहुँमा गएराती दुई समूहबीच झडप भएको थियो । घाइते हुनेमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ता छन् ।

त्यसैगरी, गोरखामा पनि गठबन्धन दलका कार्यकर्ताबीच नै झडप भएको छ । अजिरकोट गाउँपालिका–१ घ्याच्चोकमा बुधबार राति कांग्रेसका कार्यकर्ताले माओवादी कार्यकर्तामाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएका छन् । उनीहरूको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । होटलमा खाना खाइरहेको अवस्थामा आफूहरूमाथि कुटपिट भएको पीडितको आरोप छ ।

रोल्पामा त झन सत्तारुढ दलका कार्यकर्ताबीच दिनहुँ झडप भइरहेको छ । गठवन्धन गरेर चूनावी मैदानमा उत्रिएका सत्तारुढ दलका कार्यकर्ताहरु रोल्पामा भने दिनहुँ जसो झडपमा उत्रन थालेका छन ।
गत वैशाख २१ गते माडी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेस–एमाले गठवन्धन र माओवादी–एकीकृत समाजवादीवीच झडप भएको थियो ।

झडपमा कांग्रेस–एमाले गठवन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार निमवहादुर डाँगी माथि रड प्रहरी गरि सांघातिक आक्रमण भएको थियो । गम्भिर घाईते डाँगीको अहिले उपचार भई रहेको छ ।

वैशाख २६ गते गंगादेव गाउँपालिकामा आक्रमणको अर्को घटना भयो । सो आक्रमणमा नेपाली कांग्रेसका मनवहादुर वुढामगर र कमल वुढामगर सख्त घाईते भएका छन । उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ ।

त्यसैगरि वैशाख २६ गते राती ११ वजे सुनिल स्मृति गाउँपालिका–८ अरेशमा नेपाली कांग्रेसका कार्यकर्ता मनवहादुर पुनलाई सांघातिक आक्रमण गरि गम्भिर घाईते बनाएकाले उनको वुटवलमा उपचार भईरहेको कांग्रेस रोल्पाले बताएको छ ।

जिल्लाको रुन्टीगढी गाउँपालिका–३ को मसिना, परिवर्तन गाउँपालिका–२ कुरेली र वडा नम्बर २ कै रांसीमा समेत आफ्ना कार्यकर्तमाथि आक्रमण भएको कांग्रेस रोल्पाको भनाइ छ । परिवर्तन २ रांसीमा माओवादी कार्यकर्ता खुकुरी लिएर आक्रमणमा उत्रिएको कांग्रेसको आरोप छ ।

यता, पाँचथरमा भने एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । मौन अवधिको उल्लंघन गर्दै रातको समयमा घरदैलो र मतदाता भेटघाट गरेका दलहरुबीच पाँचथरको हिलिहाङ गाउँपालिकामा झडप भएको हो ।

बुधबार राति मध्यरातमा नेकपा एमाले र राप्रपाको गठबन्धन तथा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबीच झडप भएको हो । चुनावी प्रचारमा एमाले जिल्ला सचिव तथा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटासहितको टोली गाउँ छिरेपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले पिछा गर्ने क्रममा झडप भएको थियो । बिहान ३ बजे प्रहरीले झडपलाई साम्य गराएको बताएको छ । झडपका क्रममा केही मोटरसाइकलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

त्यस्तै ओखलढुंगामा पनि केही स्थानमा झडप भएको छ । मोलुङ गाउँपालिका–७ मा दुई महिलाबीच चुनावको विषयमा गिलास हानाहान भएपनि विवाद गाउँमै मिल्यो । सिद्धिचरण नगरपालिका–२ निशंखे र वडा ७ विगुटारमा झगडा भयो । दुवै घटना प्रहरीमा मिलापत्र भयो । सिद्धिचरण–४ मा सामान्य कुटाकुट भयो । कतिपय यस्ता घटना प्रहरीमा नपुगी साम्य भएका छन् ।चम्पादेवी गाउँपालिकाको ७ मा वडाध्यक्षका उम्मेदवार सुरेश थापाले कुटपिट गरेको भन्दै राजु पोख्रेलको निवेदन प्रहरीमा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077