Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाँच करोड २० लाख ठगी प्रकरण : भक्तपुरका जनप्रतिनिधि पनि मुछिए, नवनिर्वाचित वडाध्यक्ष फरार

काठमाडौं । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमतिबिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमतिबिना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।

सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 'वडाध्यक्षसहित ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो । केशव अधिकारी र ईश्वर गाइजु हाल अनुसन्धानका क्रममा थुनामा । अन्य चार जना फरार छन्', उनले भने ।

वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । अधिकारी र गाइजुसहितको टोलीले चाँगुनारायण नगरपालिका–८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैनाबापत करारनामा गरी पाँच करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राईले जाहेरी दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077