काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘आरसीओडी’को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् । मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत प्राधिकरणमा बस्नेछ ।
बैठकमा प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी, सञ्चालक समिति सदस्य तथा आरसीओडीको चरणमा रहेका जलविद्युत् आयोजनाका प्रतिनिधिहरू सहभागी हुनेछन् । करिब ७० आयोजना मध्ये प्राथमिकतामा परेका कम्पनीलाई बैठकमा आमन्त्रण गरिएको छ ।
आरसीओडी भनेको कुनै जलविद्युत् आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने अन्तिम निर्धारित मिति हो। तोकिएको समयभित्र आयोजना सञ्चालनमा नआए त्यसले पिपीए तथा अन्य सम्झौतासम्बन्धी दायित्वमा असर पार्छ।
ऊर्जा मन्त्रालयका अनुसार बाढी, पहिरो, प्राकृतिक प्रकोप वा आयोजनाको नियन्त्रणबाहिरका कारणले निर्माण प्रभावित भएका आयोजनाको वर्गीकरण गरी आरसीओडीको म्याद थप्ने तयारी गरिएको हो।
सरकारको उद्देश्य वास्तविक समस्यामा परेका आयोजनालाई राहत दिने र जानाजानी आयोजना अलपत्र पार्ने प्रवृत्तिमा कडाइ गर्नु हो।
बैठकमा वर्षौंदेखि लाइसेन्स लिएर आयोजना अघि नबढाउने कम्पनीबारे समेत स्पष्ट निर्णय हुने जनाइएको छ।