Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हाजिर नभए एआईजी पोखरेलमाथि विभागिय कारबाही शुरु हुने, विदा अस्वीकृतको पत्र घरको ठेगानामा

    हाजिर नभए एआईजी पोखरेलमाथि विभागिय कारबाही शुरु हुने, विदा अस्वीकृतको पत्र घरको ठेगानामा

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । बिदामा बसेर सरकारविरुद्ध नै मुद्दा लडिरहेका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको थप १० दिन विदा अस्वीकृत भएको छ ।

    यसअघि लिएको एक महिने बिदा आज सकिएपछि पुनः १० दिन बिदा थप्न भन्दै उनले प्रहरी प्रधान कार्यालय नक्सालमा वारेसमार्फत निवेदन दिएका थिए । मानवश्रोत विभागमा रहेका एआईजी पोखरेलेलाई सरकारले हिजो मात्रै प्रदेश समन्वय विभागमा सरुवा गरेको थियो ।



    अहिले वर्षायाम सुरु भइसकेको हुँदा सम्भावित प्राकृतिक विपत्तिलाई मध्यनजर गरी उनी हाजीर भएर कामकाज शुरु गर्नुपर्नेमा उल्टै विदा थप्न भन्दै निवेदन दिएका छन् । जबकी थप विदा चाहिएको खण्डमा आफै उपस्थित भई निवेदन दिनुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ ।



    आफूलाई आईजीपी नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेर एक महिना विदामा बसेका पोखरेलले पठाएको ‘विदा निवेदन पत्र ‘ आईजीपी धिरजप्रताप सिंहले अस्वीकृत गरेपछि उनी कार्यालय जानै पर्ने भएको छ ।

    पोखरेलले सहयोगीमार्फत विदाका लागि निवेदन दिएपनि प्रहरी प्रधान कार्यालयले भने विदा अस्वीकृत भएको पत्र उनको घरको ठेगानामै पठाएको छ ।

    सरकारले पोखरेलसँगै सेवा प्रवेश गरी एसपीसम्मको बढुवामा सिनियर रहेका एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि पोखरेल असन्तुष्टि जनाउँदै सर्वोच्चमा पुगेका थिए ।

    मुद्दाको सुनुवाईका लागि सर्वोच्चले जेठ ३० गते पेशी तोकेको छ । विदा अस्वीकृतसँगै उनी हाजिर नभएको खण्डमा विभागिय कारबाही शुरु हुनेछ । जस अन्तर्गत पोखरेलमाथि वर्खास्ती प्रकृया शुरु हुन सक्ने प्रहरी स्रोत बताउँछ ।

    एकातिर मुद्दाको सुनुवाई कुरेर बसिरहेका पोखरेल अर्कोतिर भने सम्मानजनक न्याय चाहियो भन्दै कांग्रेस नेताहरुको घर धाउन थालिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार