Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हेलिकप्टरको भीआईपी उडानमा दुई पाइलट अनिवार्य

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न निर्देशन दिएको छ। उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भीआईपी) को उडानमा दुई जना हेलिकप्टर पाइलट अनिवार्य राख्न भनेको छ।

हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणका लागि एक स्वचालित प्रणाली सञ्चालनमा ल्याउन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ।

हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।

हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने प्राधिकरणको निर्णयलाई कार्यान्वयन गरी स्वदेशी पाइलटहरुको उत्पादन गर्ने आत्मनिर्भता सहितको उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्रत्येक हेलिकप्टर कम्पनीले बढीमा ३ वर्षभित्रमा पाइलट तयार पार्न प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्ति गर्ने व्यवस्था मिलाउन भनेको छ।

हवाई जहाज सञ्चालक कम्पनीहरुले १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न पनि भनेको छ।

यस्तै हेलिकप्टर कम्पनीहरुले ७ असारदेखि तोकिएके आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न पनि प्राधिकरणले भनेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077