Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरी र परिवारका सदस्यलाई चितवन मेडिकल कलेजमा २५ प्रतिशत छुट हुने

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरूलाई उपचारमा छुट दिने भएको छ ।

शुक्रबार अस्पताल र नेपाल प्रहरी श्रीमती संघबीच नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरूलाई २५ प्रतिशत छुट हुने सम्झौता भएको हो ।

सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. दयाराम लम्साल र संघका तर्फबाट अध्यक्ष कुसुम लता सिंहले हस्ताक्षर गरेका हुन् ।

अब नेपाल प्रहरी र पूर्व प्रहरीसहित उनीहरूका परिवार र अमर प्रहरीका परिवारले मेडिकल कलेजमा उपचार गराउँदा उपचार सेवाहरूमा २५ प्रतिशत छुट सुविधा पाउने छन् । यस्तै फार्मेसीमा ७ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ । उक्त सेवा लिनका लागि सङ्घले उपलब्ध गराएको परिचयपत्र आवश्यक पर्ने सम्झौतामा जनाइएको छ ।

यो सम्झौता आउँदो साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ । नेपाल प्रहरी र पूर्व प्रहरीसहित उनीहरूका परिवार र अमर प्रहरीका परिवार नेपालका जुनसुकै ठाउँको भए पनि परिचयपत्र सहित आएमा यो सुविधा उपभोग गर्न पाउने छन् ।

सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचार लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता हुने उपचारमा भने यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले जानकारी दिए । यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने सम्झौतामा उल्लेख छ ।

टिकट लिइसकेपछि भने यो सम्झौता लागू हुने बताइएको छ । संघका अध्यक्ष सिंहका अनुसार संघले कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्दा अस्पतालले चिकित्सक सहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताइन् । उनले यो सम्झौताले नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने विश्वास गरिन् ।

संघले नेपालमै पहिलो पटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको उनको भनाई छ । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077