Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधवप्रति योगेशको टिप्पणी : मलाई पछुतो छैन, दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले विभाजन गर्दा साथ नदिएकोमा आफूलाई कुनै पछुतो नभएको अभिव्यक्ति दिएका छन् ।

भट्टराईले सोमबार सामाजिक संजाल फेसबुक मार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । माधव नेपालसँगको सम्बन्धका विषयमा फेसबुकमा ११ बुँदा लेख्दै भट्टराईले एमाले विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने आफ्नो बुझाइ रहेकाले नेपाललाई साथ नदिएको बताए ।

'नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिनँ। त्यसमा मलाई पछुतो छैन।' साथै उनले आफू मार्क्सवादी चेत भएको मानिस भएको बताएका छन्।

उनले लेखेका छन् - 'कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु- “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”

अध्यक्ष नेपालप्रति सचिव भट्टराईले आइतबार दिएको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीका कार्यकर्ताले आलोचना गरेका थिए ।

भट्टराईले आइतबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै माधव नेपालले अब सन्यास लिए हुने बताएका थिए ।

यस्तै शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले पनि एमालेका १० भाइहरू दास भएर बसेकोु टिप्पणी गरेका थिए।

यस्तो छ योगेशको टिप्पणी :

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र असिस्ट टिप्पणी गर्नु भयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं। अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले उहाँकै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काएँ। समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन। अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु -“कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ। त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु।

२.उहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु। उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ।

३. नेकपा एमालेको पाँचौ महाधिवेशन ९२०४९० मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो। हामी सुरुदेखि नै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौं।

४. छैठौं महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन उहाँलाई थिएन।

५. सातौँ महाधिवेशनबाट उहाँ पुनस् पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन उहाँलाई थियो।

६. आठौं महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो। हामी उहाँसँग लागेनौं।

७. नवौं महाधिवेशनमा उहाँ पुरनै धारमा फर्कनु भयो। अध्यक्षको उम्मेदवार हुनुभयो। हामीले साथ दियौं। जित्नु भएन।

८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिनँ र गरिनँ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाइ रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिनँ। त्यसमा मलाई पछुतो छैन।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ। राष्ट्रिय सम्मेलनबाट चुनिएको। उहाँ पार्टीको महासचिव। उहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो। उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ। मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ। गुरुहरुप्रति मेरो सदा सम्मान छ। र, मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु।

म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन। पुनश्च: कमरेड माधव नेपालसँग सवाल–जवाफ गर्नु मेरो मनसाय होइन। २०७९ जेष्ठ १३ गते बिहान काठमाडौं-धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077