Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमान्–श्रीमतीले नै गरे घरमा आएका पाहुनाको हत्या !

झापा । एक जना भारतीय नागरिकको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय नागरिक ४० वर्षीय जपडीया नरेशकुमार बाबुको हत्या आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अर्जुनधारा– ७ की ३२ वर्षीया जानुका सुवेदी थापा, सोही ठाउँ बस्ने ४९ वर्षीय विनय भनिने बृखबहादुर थापा र सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार छन् ।

यही असार १२ गते साँझ झापाको अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र उनको शव फेलापरेको थियो ।

प्रहरीका अनुसार ०७६ मंसिरमा जानुका कामको सिलसिलामा नेपालबाट भारतको दिल्ली गएकी थिइन् । उनी त्यहाँ दुई महिना बसेपछि गुजरातमा गएर डेढ महिना बसिन् । त्यही क्रममा जानुकाको जपडीयासँग भेटघाट र चिनजान भयो ।

उनै भारतीयले जानुकालाई ०७६ साल फागुन अन्तिम साता भारतको पानीट्यांकीसम्म ल्याएर छाडेका थिए । ०७६ साल चैतमा जपडीयाले जानुकाका छोराछोरीहरूका लागि खेलौना तथा लत्ताकपडा समेत भारतबाट नेपाल पठाएका थिए ।

जानुकासँगको सम्पर्कपछि उनी पटक–पटक मोरङको विराटनगर आउने–जाने गरेको खुलेको छ । सोही क्रममा जपडीयाले जानुकालाई घर निर्माणका लागि पाँच लाख रुपैयाँ समेत दिएको पाइएको छ ।

०७९ साल वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानीले अवैध भारतीय ५९ हजार रुपैयाँसहित ती भारतीयलाई पक्राउ गरेको थियो । उनी धरौटीमा छुटेका थिए । तारेख बुझाइरहेका थिए । प्रहरीका अनुसार गएको जेठमा जपडीया तारेखका लागि भारतबाट अर्जुनधारा–७ स्थित जानुकाको घरमा आएका थिए ।

त्यहाँ बस्दा जानुकाको श्रीमान्को अगाडि जपडीयाले दुर्व्यवहार गरेपछि श्रीमान्–श्रीमती दुवैले उनको हत्या योजना बनाएका थिए । जपडीया फेरि भारतबाट असार ७ गते तारेखकै लागि जानुकाको घर आए । सो राति जानुकाकै घरमा बसेपछि उनी तारेखका लागि सुनसरीको इटहरी गई सोही दिन दिउँसो साढे २ बजे घरमा फर्किएका थिए ।

जपडीयालाई मार्ने योजनाअनुसार सुरेश परियार, अर्को एकजना मानिस, जानुका र बृखबहादुरका बीचमा हत्या गरेपछि पाँच लाख रुपैयाँ दिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077